फुटबलका नायक आफ्नै आँगनका

फुटबलमा स्वर्णपदक हात पारेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राष्ट्रिय टोलीलाई बधाई दिँदै भनिन्, नेपाली फुटबलले बेहोरेको दुई दशकभन्दा लामो निराशाको अन्त्य गर्दै उत्साहको सञ्चार गराउने यस विजय शृंखलाले हामी सबैलाई हर्षित बनाएको छ ।

स्वर्णपदक दिलाएको नेपाली यु २३ फुटबल टोलीको स्वागतका लागि राष्ट्रिय झन्डासहित बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका कीर्तिपुरका अनन्त बोलखी राष्ट्रपतिले भनेजस्तै उत्साहित र हर्षित भेटिए । राष्ट्रिय झन्डासहित आएका १९ वर्षीय बोलखीले यो जितले निराशाको कालो बादल चिर्दै आशाको किरण छरेको सुनाए । ‘अब हामी पनि सक्छौं भन्ने भावना पलाएको छ,’ उनले भने, ‘अगाडिको बाटो अझै उज्यालो छ ।’

बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीलाई मन पराउने बोलखी यति बेला आएका नेपाली टिमका खेलाडी नवयुग श्रेष्ठको प्रशंसक बनेको सुनाए । नेपाली टिमले पछिल्ला खेलमा देखाएका कौशलले फुटबलमा मेरो हिरो बदलिएको छ, उनले भने, ‘मेरो मनमा रहेको मेसीको ठाउँ अहिले नवयुगले ओगटेको छ ।’

नेपाली खेलाडीलाई मुटुमा सजाउन पाउनु गर्वको विषय रहेको उनले सुनाए। बुधबार राष्ट्रिय टोलीको स्वागत हुदै गर्दा बोलखीको जस्तै धारणा राख्ने थुप्रै भेटिए। मेसी, नेइमार, स्वारेज, इनिस्टा, टोभेजजस्ता अन्तर्राष्ट्रिय खेलाडीलाई मन पराउनेहरु यति बेला नवयुग, विमल, अन्जन, विकेश, प्रकाश बुढाथोकीलगायत खेलाडीलाई आफ्ना नायक मान्न थालेका छन् ।

फाइनलमा भारतविरुद्ध प्रकाश बुढाथोकीले प्रहार गरेको फ्री किकले रोवर्टो कार्लोसको सम्झना दिलायो, च्यासलबाट आएका नवीन महर्जनले भने, ‘त्यो गोल साँच्चिकै उत्कृष्ट थियो ।’ जतिसुकै राम्रो खेले पनि अन्तमा गोल गर्न नसक्ने नेपाली टिम झेल्दै आएका दर्शक मौकामा चौका हान्ने खेलाडी पाएकोमा गौरव गर्छन् । सबै गोल राम्रा छन्, खेल उत्कृष्ट छ, महर्जनले थपे, त्यसभन्दा बढी अझै अगाडि बढ्छ भन्ने आशा जागेको छ । कार्लोसका फ्यान महर्जनले अब त्यो स्थान प्रकाश बुढाथोकीले लिएको सुनाए ।

खेलकुदमा खासै चासो नराख्नेले पनि नेपालको विजयसँग आफूलाई जोडे । मलाई खेलकुदबारे खासै चासो छैन, नयाँ थिमीकी एलिसा गजुरेलले भनिन्, तर भारतमाथि नेपालले पाएको विजयले मलाई निकै खुसी बनाएको छ । सोमबारको फाइनल प्रतियोगिता नहेरी सुतेकी गजुरेलले विजयपछि लागेको गोल–गोलको नाराले बिउँझाइदिएको सुनाइन् ।

अन्य खेलकुदका स्टारले पनि नेपाली फुटबल टिमको विजयमा उत्सव मनाए। साग फुटबलको फाइनलमा नेपाल र भारत भिडिरहँदा नेपाली क्रिकेटर एकैठाउँ भेला भएर टेलिभिजनमा खेल हेरे र उपाधि जित्दा उनीहरुले एकसाथ उत्सव मनाए । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आम नेपालीसरह आफूहरु पनि जितमा खुसी भएको सुनाए । फुटबलको यो विजयले समग्र खेलकुद क्षेत्रमै तरंग ल्याएको उनले सुनाए ।

सोमबारको विजयको महत्व बुधबार विजेता खेलाडीको स्वागतमा सडकमा ओर्लिएका सर्वसाधरणको भिडले दर्साएको थियो । एयरपोर्टबाट तिलगंगा, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी हुँदै अगाडि बढेको नेपाली टिमको र्या लीलाई सडकका दुवै छेउ बसेका सर्वसाधारणले नेपाली झन्डा देखाउँदै स्वागत गरेका थिए । फुटबल टिम पुतलीसडक, प्रदर्शनी मार्ग, सहिदगेट, न्युरोड, वीर अस्पताल हुँदै रंगशालामा पुग्दा सिंगो सहर हर्षित देखिन्थ्यो ।

खेलसँग राष्ट्रियता जोडिएको छ, त्यसैले सबै नेपाली खुसी भएका हुन्, स्वागत र्यागलीमा सहभागी बालाजुका सन्तोष भट्टले भने, ‘पदक जितेको रातदेखि अहिलेसम्म उत्तिकै खुसी लागेको छ ।’रिलायन्स इन्टरनेसनल एकडेमीमा कक्षा १२ मा अध्यनरत सोना थापा पनि मेसीलाई औधी मन पराउँछिन् । तर केही दिनयता उनको खेलको हिरो फेरिएको छ । ‘अब मलाई अनन्त तामाङ मन पर्न थालेको छ,’ उनले भनिन्, ‘उसको खेल हेर्दा रमाइलो लाग्छ ।’

पछिल्लो विजयसँगै आशावादी रहेकी उनी नेपालले पनि एक दिन विश्वकप फुटबल खेल्ने सुनाइन् । भिएस निकेतनमा कक्षा ११ मा अध्ययनरत सबिन लामिछानेले आफ्नो नामअगाडि लियोनल राख्ने गरेका छन् । फेसबुकमा उनी लियोनल सुबिनको नाममा आफ्नो आइडी छ । उनलाई पनि अब नेपाली खेलाडी मन पर्न थालेको नागरिक दैनिकमा समाचार छ ।

 

0 Response to "फुटबलका नायक आफ्नै आँगनका"

Post a Comment

Popular Posts

Popular Posts